•  
  •  
  •  
  •  
  •  
  •  
  •  

| कविता

जिन्दगीमा दुई पटक
वियोगका सन्नाटा चलेको थियो – मेरो आँगनमा
जब म आफ्ना सबथोक छोडेर तिमी सँग आएकी थिए सधैको लागि
र अर्को,
तिमीले सधैका लागि मलाई नै छोडेर गएका थियौ ।

फेरि पनि
जीवनमा दुई पटक रंगहरुले खेले मसँग ।
पहिलो – तिमीले जब मेरो सादा सिउदो रंगीन बनाइदियौ
र दोश्रो – मेरो रंगिन सिँउदो
पुरै सादा बनाइदियौँ ।

तिमी फूल भन्थ्यौ मलाई
तर आफ्नै निजि रंग लिएर म फूल्न सकिन ।
जीवनको यो अधबैशे सुगन्ध म कसरी विर्सनु ?

तिमी चितामाथि सुतेर
धुवाको जहाज चढेर माथि माथि पुगेपछि
मेरा खुट्टाहरू तल तल भासिदै भासिदै गए ।
भन्थे छोरी मान्छेहरू धर्ती जस्तै हुन
आज चुपचाप म जमिनको माटो जस्तो भए ।

कयौ पटक मेरा चाहनाहरू
तिम्रै सन्तुष्टिको आलिङ्गनमा विलय गराएकी थिए
अब भन
मेरा जीवित बैशहरू कस्को संवेदनासँग जोडा मिलाऊ ?

अब कसलाई हेरेर बगाउ मेरा आँसुका सेतीहरू ?
कस्लाई देखाऊ आँखाबाट लुटिएको महासागर
र मुटुमा फैलिएको विशाल मरुभूमि ?

छोएर मैले यदि फुलहरू सुक्छन भने
साईत को यात्रा मैले देखेर अशुभ हुन्छ भने
अब मलाई भन्नुस
मन्दिरका मूर्तिहरू पनि बिधुवा न हुन्
कुन देविलाई देखेर अशुभ भएको छ र?

ओ प्रिय पुरुष !
यदि तिमी म भएको ठाउँमा भएको भए
आफूलाई के बनाएर हिड्थ्यौ होला -एक बिदुर या फेरि अर्को एउटा कुमार?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here