जे.सागर
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शेर बहादुर देउवाले घरमा रक्सी पिए रे ! प्रचण्ड आमसभामा रेखा थापासँग नाचे रे ! नविना लामाले बिहेमा टन्नै सुन लगाइन् रे ! यस्ता विषयलाई हटकेक बनाएर सामाजिक सञ्जाल तातेका देख्दा ,पक्ष र विपक्षमा दोहोरी खेलेको देख्दा, कोठे अनलाइनेहरुले भंगेरे अक्षरमा समाचार बनाएको देख्दा प्रष्ट हुन्छ -हाम्रो चेतनाको स्तर कति छ , हाम्रो सोचाइको दायरा कति फराक छ ।मलाई उदेक लाग्छ पर्सनल फ्रीडम,मोर्डनाइज वर्ल्ड ,ह्युमन राइट्सको दुहाइ दिन हाम्रा मुखहरु आकाश जत्रै विशाल बनिरहँदा खोपडी किन झिंगाको टाउको जत्रो हुँदो हो ?

हामी सबैलाई थाहा छ, जतिसुकै ठुलो सामाजिक व्यक्तित्व भएपनि ,जतिसुकै ठुलो पदमा आसिन भएपनि ,जतिसुकै पपुलर आइडेन्टिटी भएपनि मान्छे, सबैभन्दा पहिले मान्छे हो । पद र पपुलारिटी पछि प्राप्त भएका कुरा हुन् ।पहिले त उ मान्छे हो ,त्यसैले उ सर्वप्रथम मान्छे भएर बाँच्न पाउनु पर्छ । मान्छेले प्रकृतिप्रदत्त अधिकार उपभोग गर्न पाउनु कसैको निगाह हैन ,अधिकार हो ।हरेक मान्छे जब जन्मिन्छ प्राकृतिक रुपमा नै उसँग आवेग ,उद्वेग, उत्तेजना ,उत्कण्ठा ,उल्लास ,उमंग ,उदासी ,उर्जा ,आकांक्षा ,आशक्ती ,अभिलाषा ,इर्ष्या दु:ख,दर्द,दया ,हाँसो ,आँसु विरह,वेदना ,काम,क्रोध, लोभ, मोह,मद …. आदि गुण/अवगुण स्वत धारण गरेर जन्मिन्छ ।अवस्था अनुसार यी गुण अवगुणको प्रयोग हुनु मानवीय जीवनको स्वभावतः प्राकृतिक प्रकृया हो । हुनपनि एउटा जिन्दगी पुर्ण जिन्दगी हुनको लागि जिन्दगीका सबै रंगहरु अपरिहार्य छन् । रंगहीन जिन्दगी के जिन्दगी !

मैले यी कुराहरु किन उठान गरेको भने विशेषत हामी नेपालीहरु कुनै पनि व्यक्तिलाई रातारात देवत्वकरण र राक्षसीकरण गर्न साह्रै माहीर छौं । आफ्नो पक्षको ,आफूलाई मनपर्ने ,आफ्नो स्वार्थ पुरा हुने ,आफूले सोचेजस्तो हुने भयो भने ९९ प्रतिशत अवगुणका बाबजुद पनि हामी उसलाई अलौकिक प्राणी बनाइहाल्छौं । त्यसको विपरीत आफ्नो विपक्ष ,आफ्नो स्वार्थ पुरा नहुने ,आफुले सोचेजस्तो नहुने बित्तिकै फेरि महादानवको पगरी गुथाइहाल्छौं ।हुन त यो देवत्वकरण र राक्षसीकरणको शुरूवात दुई व्यक्तिबाट शुरु भएर घर, समाज,गाउँ ,जिल्ला देश, सबैतिर व्याप्त छ तर अहिले छलफल गर्न लागिएको विषय देशको सवालमा हो । अहिले हामीलाई विकेन्द्रीत गर्ने बहाना धेरै छन् ।विकेन्द्रीकरणको प्रमुख कारण त राजनीति बनेको छ ।राजनीति हाम्रो नशा नशामा यसरी घुसेको छ कि इतर पार्टीको छ भने हामी आफ्नै बाबु-छोरा दाजुभाइलाई पनि दुश्मनको नजरले हेरिहाल्छौं । परायाको नजरले, शंकाको नजरले जोखिहाल्छौं ।त्यसबाहेक जात ,धर्म ,भाषा, वर्ण, क्षेत्र,वर्ग ,लिंग आदि त विकेन्द्रीकरणका सहायक कारणहरु छँदैछन् ।यी तमाम कारणहरुले अहिले हामीले आफ्नो पक्षको बाहेक विपक्षीलाई यसरी खेद्छौं कि त्यतिबेला हामी एउटा मान्छेले प्राकृतिक मानवीय अधिकार प्रयोग गर्दैछ भन्ने पनि भुल्छौं ,अन्धो बन्छौं या बुझ पचाउँछौं ।

मैले लेखको शुरूवातमा उदाहरणका रुपमा उल्लेख गरेका प्रमुख तीन घटनाका पात्रको विषयमा प्रसंग जोड्न चाहन्छु । केही समय अगाडि कुनै अनलाइन न्युजमा पढेको थिएँ – निवर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नो निजि निवासमा मदिरा पिएको ( फोटोमा टेबुलमा राखेको देखिएको थियो ) यसलाई सामाजिक सञ्जालमा धेरैले शेयर गरे विपक्षीहरुले मजाक उडाए, गाली गरे, आफ्ना पक्षकाले बचाउ गर्ने प्रयास गरे । तर के यी सबै वाहियात हैनन् ? शेर बहादुर देउवा देशका एक जिम्मेवार नेता हुन् ,सामाजिक व्यक्तित्व हुन् तर के यसो भन्दैमा उनले आफ्नो निजी जिन्दगी भोग्न नपाउने ? उनलाई पिउन मन लाग्ला ,नाच्न मन लाग्ला ,गाउन मन लाग्ला ,रुन मन लाग्ला ,हाँस्न मन लाग्ला नपाउने ? हो,उनी देशका प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् त्यसैले प्रधानमन्त्री कार्यालयमा ( ड्युटी आओर)बस्दा ,पार्टीको भेला बैठकमा जाँदा ,सार्वजनिक ठाउँमा सम्बोधन गर्न जाँदा उनले पिउन मिल्दैन तर आफ्नो घरको बैठक कोठामा साँझको समयमा पिउन किन मिल्दैन ? यस्तो फोटो खिचेर किन मजाक उडाइन्छ ?किन गाली गरिन्छ । मादक पदार्थ सेवन स्वास्थ्यको लागि हानीकारक छ त्यो जान्दाजान्दै पिउनु उनको समस्या भयो ,पिएर ड्राइभ नगरुन् त्यो गैर कानुनी भयो । तर नेपालको कानुनले खुलेआम मदिरा बिक्रीवितरण गर्न अनुमति दिएको छ ,पिउनेलाई पिउन बन्देज लगाएको छैन ।आधारात सम्म मदिरा बेच्नकै लागि क्लब र बारहरुलाई अनुमति दिइएको छ भने देउवाले पिउँदा के अचम्म भयो ? म त भन्छु उनले घरमा मात्रै हैन क्लबमा गएर पिउन पनि पाउँछन् ,डिस्कोथेकमा गएर उफ्रिंदै नाँच्न पनि पाउँछन् । के ऊनी मान्छे हैनन् ?

दोश्रो उल्लेखित पात्र पुर्व प्रधानमन्त्री प्रचण्डले केही वर्ष अगाडि एक आमसभामा नायिका रेखा थापासँग नाछे रे ! यो विषयले पनि निकै चर्चा पायो । समर्थन र विरोधका स्वरहरु निकै ससुनिए। ए बाबा अचम्म लाग्छ ! जसरी अस्ति पुत्र वियोगमा ऊनीपनि आम मान्छे जस्तै रोए ,त्यसैगरी रसिक माहोलमा ऊनी नाचे । के भयो त ? अस्ति दु:खमा रुँदा मानवीय गुण मानेर स्वभाविक मान्नेहरुले सुखमा नाचेको पनि स्वाभाविक मान्न सकिन्न ? म फेरि भन्छु यदि प्रचण्ड कार्यसमय बाहेक उनको व्यक्तिगत समयमा कसैको बिहेमा जन्ती गए भने ब्याण्ड बाजाको तालमा छमछमी नाच्न पाउँछन् । उठ्यो बस्यो गरेर नाच्न पाउँछन् । भुइँमा मडारिएर नागिन डान्स गर्न पाउँछन् । ऊनी चाहिँ मान्छे हैनन् र ?

हालसालै अनावश्यक चर्चामा ल्याइएको अर्की पात्र – एमाले नेत्री नविना लामा ,जसले आफ्नो बिहेमा अलि धेरै सुनका गहना लगाइन् रे ! कति निम्न स्तरको सोच ! यदी कसैले आफ्नो निजि सम्पत्तिबाट आफ्नो जिन्दगीको अहम् उत्सवमा खर्च गर्छ भनेर अरुलाई किन टाउको दुखाइ होला ? हो, त्यो सुन भ्रष्टाचार गरेर,लुटेर ,कर छलेर ल्याएको हुन भएन । यदी आफ्नो निजि या पैत्रिक सम्पत्तिबाट खर्च गर्छ भने यसमा अरुले आपत्ति मान्नुपर्ने के छ ? यस्तो पनि विरोध र समर्थनको विषय हुन्छ ? विरोधको लागि विरोध मात्रै हैन ,समर्थकहरुले के के नै गरिन् भनेर वाहवाही गर्न पनि जरुरी छैन ।किनकि यो नितान्त व्यक्तिगत स्वतन्त्रताको कुरा हो । अझ भनौं यो कुनै विषय नै हैन ! कम्युनिस्ट सर्वहारा हुन् ऊनीहरुले तडक भडक गर्नुहुन्न भन्ने हो भने अहिले नेपाली कम्युनिस्ट नेताहरुमा को छन् सर्वहारा ? आफ्नो पक्षको भए त्यही कुरा सामान्य मानेर पचाइन्छ भने विपक्षी हुने बित्तिकै तारो किन बनाइन्छ । एउटै घटनालाई मुल्यांकन गर्न दोहोरो मापदण्ड किन बनाइन्छ ? आफ्नो जिन्दगीको महत्वपूर्ण उत्सवमा आफ्नो निजी सम्पत्ति आफ्नो तरिकाले खर्च गर्न पाउनु उनको अधिकार हैन र ? खुसी मान्न पाउनु प्राकृतिक गुण हैन र ? प्रकृतिले सबैलाई प्राकृतिक गुण समान दिएको छ हैन र ? मलाई त डर लाग्दैछ कतै नेपालजस्तो संस्कार र संस्कृतियुक्त देशमा जन्मेर नविना लामाले विवाह मण्डमै दुलाहासँग मस्केर बोलिन् रे ! कस्ती उत्ताउली !भनेर पनि समाचार र स्टाटस लेखिने हुन् कि !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here