•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्बाङले घोषित आन्दोलन फिर्ता लिन नेपाल पत्रकार महासंघलाई आग्रह गरेका छन् ।

शुक्रबार महासंघका पदाधिकारीलाई छलफलका लागि बोलाएका नेम्बाङले पत्रकार महासंघले घोषणा गरेको कार्यक्रम फिर्ता लिन आग्रह गरेका हुन् । भेटमा नेम्बाङले मिडिया काउन्सिल विधेयकका सम्बन्धमा पत्रकार महासंघको असन्तुष्टिलाई संसदीय प्रकृयाबाटै सम्बोधन गरिने आश्वासन दिएका थिए ।

सरकारले मिडिया काउन्सिल विधेयक अघि बढाएपछि त्यसले प्रेस स्वतन्त्रता हनन् गर्ने भन्दै पत्रकार महासंघ आन्दोलनमा छ । महासंघले उक्त विधेयकविरुद्ध पहिलो चरणको आन्दोलन पूरा गरिसकेको छ भने त्यसपछिका आन्दोलन पनि घोषणा गरिसकेको छ । महासंघले विधेयक फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ ।

सरकारले ल्याएका विधेयकका सम्बन्धमा एकपछि अर्काे गर्दै व्यापक विरोध भइरहँदा महासंघको आन्दोलनले सरकार थप अप्ठेरोमा परेको छ । सोही समस्याको समाधान खोज्न नेम्बाङले शुक्रबार महासंघको टोलीलाई सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा छलफलका लागि डाकेका थिए ।

सरकारले संसदमा विधेयक दर्ता गरे पनि महासंघले आपत्ति जनाएपछि त्यसलाई अघि नबढाइएको नेम्बाङले महासंघको टोलीलाई बताएका थिए । ‘महासंघले त्यसप्रति आफ्ना रिजर्भेजन राखेपछि विधेयकलाई एक इन्च पनि बढाइएको छैन,’ नेम्बाङले छलफलका क्रममा भनेका थिए, ‘तपाईंहरुसँगको छलफलपछि मात्रै विधेयकलाई अगाडि बढाउने भनेर रोकिएको हो ।’ उनले प्रेस स्वतन्त्रताको पक्षमा आफूहरु अडिग रहेको पनि दोहोर्याए ।

छलफलमा सहभागी महासंघको टोलीले भने काउन्सिललाई थप स्वायत्त बनाउनु पर्नेमा विधेयकले थप पछाडि धकेलेको उल्लेख गरे । महासंघका अध्यक्ष आचार्यले स्वायत्त स्वतन्त्र निकायको सिफारिसमा काउन्सिलमा नियुक्तिको प्रावधान राखिनुपर्नेमा जोड दिए ।

‘सरोकारवालाहरुको त्यसप्रति स्वामित्व छ,’ महासंघ अध्यक्ष आचार्यले भने, ‘त्यसमा रहेका प्रावधान र भावना अनुसार विधेयकहरु ल्याइए हाम्रो आपत्ति रहन्न ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here