•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । तिब्बती शरणार्थीलाई नेपाली नागरिकता उपलब्ध गराएको आरोपमा कास्कीमा ८ जना पक्राउ परेका छन् ।

पोखरा–१८ सराङ्कोटका लेखबहादुर थापाले २ नातिनीलाई छोरी बनाई नागरिकता दिलाएको आरोप छ । उनीसहित ८ जनालाई सोही आरोपमा कास्की प्रहरीले शुक्रबार पक्रेको हो ।

तिब्बती शरणार्थीसँग बिहे गरेकी छोरीका छोरीलाई आफ्नै छोरी बनाएर नागरिकता दिलाएको आरोप लेखबहादुरमाथि छ । उनलाई सघाएका स्थानीय र नागरिकता लिएकासहित ८ जना पक्राउ परेका हुन् । लेखबहादुरका नातिनी सरु र तासीआङ्मोले कास्की प्रशासनबाट जेठ २६ र असार ६ गते क्रमशः नागरिकता लिएका थिए ।

लेखबहादुरकै छोरी हुन् भन्ने सर्जिमिन मुचुल्कामा दस्तखत गरेका स्थानीय बेलबहादुर थापा, ज्ञानबहादुर थापा क्षेत्री, सन्तोष थापामगर, कमल थापा र इमा थापामगर समेत समातिएका छन् ।

लेखबहादुरले छोरी दाबी गरेका दुवै छोरी नभएको पुष्टि भएपछि पक्राउ गरिएको कास्की प्रशासन स्रोतले जनाएको छ ।

शुक्रबार समातिएका उनीहरू सबै ८ जना कास्की प्रहरीको हिरासतमा छन् । उनीहरूविरुद्ध झूटो विवरण पेस गरी नागरिकता लिएको शीर्षकमा मुद्दा चल्ने जानकारी कास्कीका सीडीओ चक्रबहादुर बूढाले दिए ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा केशवशरण लामिछानेले समाचार लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here