•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणसँग निर्माणमा जाने तयारीमा रहेका कुनै पनि आयोजना छैनन् भन्दै गुनासो मात्रै गरिन्छ । माथिल्लो त्रिशूली थ्री ए, कुलेखानी तेस्रो जस्ता रुग्ण आयोजना निर्माण सम्पन्न भएपछि प्राधिकरण आयोजनाबिहीन बन्दै गएको भन्दै बेला बेलामा आलोचना पनि गरिन्छ ।

तर, प्राधिकरणले सोही गुनासोको उचित जवाफका रुपमा विभिन्न १० आयोजनालाई अगाडि सारेको छ । ती आयोजनाको कूल क्षमता दुई हजार १२४ मेगावाट रहेको छ । प्राधिकरणले ती आयोजनालाई ‘गेम चेन्जर’ आयोजनाको रुपमा समेत लिएको छ ।

प्राधिकरणले ती आयोजना भने जनताको लगानीसमेत रहने गरी कम्पनी ढाँचामा निर्माण गर्ने तयारी गरेको छ । सहायक कम्पनीमार्फत आयोजना निर्माण गरिरहेको प्राधिकरणले आगामी दिनमा पनि सोही रणनीतिका आधारमा परियोजना निर्माण गर्ने भएको छ । रुग्ण आयोजना पालेर बसेको, नयाँ आयोजना नभएको, विद्युत् उत्पादनभन्दा पनि बिक्री वितरणमा मात्रै सीमित भएको भन्ने जस्ता आलोचना खेपिरहेको प्राधिकरणले नयाँ आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको हो । आगामी चैत मसान्तसम्म हालसम्मकै ठूलो आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी निर्माण सम्पन्न हुनेछ ।

कालीगण्डकी निर्माण सम्पन्न भएपछि निर्माण सम्पन्न हुन लागेको ४५६ मेगावाट क्षमताको आयोजनाले आर्थिक समृद्धिको पक्षमा समेत ठूलो र महत्त्वपूर्ण स्थान राख्नेछ । सोही कम्पनीले नै दोलखाको रोल्वालिङ खोलामा २२ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माण गर्न लागेको छ । सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको क्रममा रहेको छ । आयोजनाको बोलपत्र दस्तावेज तयार पार्ने क्रम अन्तिम चरणमा रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्राधिकरणको सहायक कम्पनी तनहुँ जलविद्युत् कम्पनीले प्रवर्द्धन गर्न लागेको १४० मेगावाट क्षमताको तनहुँ सेती जलविद्युत् आयोजनाको काम शुरु भएको छ । अर्धजलाशयुक्त आयोजनाको रुपमा रहेको तनहुँ सेती आयोजनाले २२० केभी क्षमताको प्रसारणलाइन निर्माण तथा विद्युत् गृह एवं हेडरेस टनेलको काम अघि बढेको छ ।

यस्तै, सोही आयोजनाले १०४ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको पनि विस्तृत इञ्जिनियरिङ डिजाइन गर्ने काम समेत प्रारम्भ भएको छ । प्राधिकरणले सहायक कम्पनीमार्फत ३० मेगावाट क्षमताको इखुवा खोला जलविद्युत् आयोजना पनि निर्माणमा जाने तयारी गरेको छ । प्राधिकरणले गेम चेन्जर परियोजनाका रुपमा १०६० मेगावाट क्षमताको अपर अरुण जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । अपर अरुण हाइड्रोइलेक्ट्रिक कम्पनीले प्रवर्द्धन गर्ने सो आयोजनाको हाल विस्तृत इञ्जिनियरिङ डिजाइन र बोलपत्र तयार पार्ने काम परामर्शदाताले गरिरहेको छ ।

त्यस्तै, आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने कार्य समेत समानान्तर रुपमा अगाडि बढिरहेको प्राधिकरणले जनाएको छ । विश्व बैंकको अगुवाइमा अन्य दातृ निकायले सो आयोजनामा लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । सो आयोजनालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्राधिकरणले समेत प्राथमिकता प्राप्त आयोजनाका रुपमा अगाडि बढाउने सोच राखेको छ ।

जनताको जलविद्युत् कार्यक्रममा समावेश गरिएको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री बी आयोजनाको निर्माण कार्य जारी छ । आयोजनामा नेपाली नागरिकबाट समेत लगानी जुटाइसकिएको छ । म्याग्दीमा आयोजनास्थल रहेको ४० मेगावाट क्षमताको रघुगङ्गा आयोजनाको समेत निर्माण शुरु भइसकेको छ ।

मेघा परियोजना अगाडि बढाउने लक्ष्यमा अगाडि बढेको प्राधिकरणले ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशयुक्त आयोजनाको समेत हाल विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्रको कागजात तयार पार्ने काम जारी छ । सो कार्य सन् २०१९ को डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । एशियाली विकास बैंकले आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । आयोजनालाई प्राथमिकतामा राखिएकाले प्राविधिक तयारी पूरा भएपछि निर्माणमा लैजाने तयारी गरिएको छ ।

प्राधिकरणका कर्मचारीको शेयरमा आयोजना

प्राधिकरणका कर्मचारीको शेयरमा जलविद्युत् आयोजना निर्माण गर्ने क्रमसमेत शुरु भएको छ । प्राधिकरणमा हाल करीब १० हजार कर्मचारी कार्यरत छन् । उनीहरुको शेयर लगानीमा आयोजना निर्माण गर्ने लक्ष्यका साथ दुई वटा आयोजना तयारी हालतमा रहेको छ । कूल ४२ मेगावाट क्षमताको मोदी जलविद्युत् आयोजना र १८।२ मेगावाट क्षमताको मोदी ए आयोजना सोही ढाँचामा अगाडि बढाउने तयारी गरिएको छ ।

ती आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्र तयार पार्ने कार्य सम्पन्न भएको छ । ती आयोजनामा लगानीका लागि आवश्यक ढाँचा तथा प्रक्रिया समेत शुरु भइसकेको छ । प्राधिकरणमा कार्यरत कर्मचारीको मागका आधारमा नै ती दुई आयोजना निर्माणमा लैजाने तयारी गरिएको हो

तामाकोशी पाँचौको युद्धस्तरमा तयारी

यस्तै प्राधिकरणले तामाकोशी पाँचौको युद्धस्तरमा तयारी गरेको छ । कूल १०० मेगावाट क्षमताको सो आयोजना माथिल्लो तामाकोशीको क्यासकेड आयोजनाका रुपमा रहेको छ । माथिल्लो तामाकोशीको टेलरेसबाट निस्केको पानीलाई आठ किलोमिटरभन्दा लामो सुरुङमा हालेर विद्युत् उत्पादन गर्ने योजनामा प्राधिकरण लागेको छ । यद्यपि माथिल्लो तामाकोशीको ऋण लगानीकर्ता कर्मचारी सञ्चय कोषले भने आयोजना माथिल्लो तामाकोशीलाई नै दिँदा उपयुक्त हुने सुझाव दिएको छ ।

आयोजनाको विस्तृत डिजाइन तथा बोलपत्र तयार पार्ने काम सम्पन्न भइसकेको छ । आयोजनामा चिनियाँ स्वामित्वको एशियन इन्फास्टकचर बैंकको अगुवाइमा ऋण लगानी गर्ने प्रतिबद्धता प्राप्त भइसकेको प्राधिकरणले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले केही ठूला आयोजना निर्माण शुरु गर्ने तयारीमा आफूहरु पुगेको बताए ।

विगतमा समस्यामा परेका आयोजना सम्पन्न भइसकेका अवस्थामा नयाँ आयोजनाको खोजी भइरहेको उनको भनाइ छ । त्यसो त सरकारले जनताको लगानीमा तीन हजार ५०० मेगावाट क्षमताको आयोजनाको समेत प्रक्रिया शुरु गरिसकेको छ । त्यसमध्ये माथिल्लो त्रिशूली थ्री बी, रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको साधारण शेयर बिक्री भइसकेको छ । –रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here