•  
  •  
  •  
  •  
  •  
  •  
  •  

बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ र रोशी गाउँपालिका–९ मा भएको छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।

बिहीबार बिहान पनौती नगरपालिका–११ थुम्कीस्थित सडक विभाग भक्तपुरको आयोजनामा पाटीखर्कबाट ख्याकु जाने मोटरबाटो निर्माण गर्ने क्रममा स्काभेटर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुत्यु हुनेमा पनौती नगरपालिका–११ का १६ वर्षीय राउत केसी र सिन्धुपाल्चोक घर भई हाल पनौती नगरपालिका–११ स्थित दिदीको घरमा बस्दै आएका १५ वर्षीय रोशन भण्डारी छन् ।

सो घटनामा परी पनौती–७ का स्काभेटर चालक २७ वर्षीय जीवन ताम्राकार घाइते भएको र उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्काभेटर सडकबाट अन्दाजी ३ सय मिटर तल सलान्दुखोलामा खसेको थियो ।

त्यस्तै, बिहीबार बिहान रोशी गाउँपालिका–९ स्थित देउरालीबाट नार्केतर्फ आउँदै गरेको दूध बोकेको बा. ५ च ५०७४ नम्बरको सवारी पानाञ्चेमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोशी गाउँपालिका–९ का १२ वर्षीय अनिल रानामगर रहेको प्रहरीले जनाएको छ । उनको उपचारका लागि धुलिखेल अस्पताल लगिएकामा अस्पताल पुग्दा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरी निरीक्षक धर्मजङ्ग थिङले बताए । सो घटनामा परी सोही ठाउँका सतीकुमारी पीठाकोटे र चालक टङ्कमान लामा घाइते भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here