• 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीव्र गतिमा काम गरिरहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार गठन भएदेखि विविध क्षेत्रमा उत्साहजनक रुपमा काम गरेको जिगिर गरे ।

‘सरकारले काम नगरेको होइन, काम हुँदै नभएको होइन, हुँदै छन्,’ उनले भने, ‘नारायाणी नदीमा छिटै क्रुज चल्ने तयारीमा छ । एकै दिनमा काम भइहाल्दैन नि विस्तारै हुने हो, हुँदैछ ।’ प्रधानमन्त्री ओलीले उज्यालो नेपालको अभियानअन्तर्गत २०७५ जेठदेखि नै देशभर लोडसेडिङ्गमुक्त भएको भन्दै भेरी बबइ डाइभर्सनको बाँध निर्माण कार्य अघि बढ्नु सुखद् भएको दाबी गरे ।

प्रधानमन्त्री ओलीले ४० वर्षपछि त्रिभुवन विमानस्थलको पुननिर्माण गरिएको, देशभर विमानस्थल विस्तारको काम भइरहेको, पाँचवटा धावनमार्गको काम भइरहेको बताए । उनले कतिपय रात्रिकालीन सेवा पनि सुरु भइरहेको जानकारी दिए ।

‘प्रधानमन्त्री, प्रदेश प्रमुखहरुको आवास तथा सम्पर्क कार्यालय निर्माण भइरहेको छ । काठमाडौंको फोहोर व्यवस्थापन बन्चरे डाडाँमा हुँदैछ,’ उनले भने, ‘तातोपानी नाकाबाट व्यापार अब सुरु हुँदैछ । मेलम्ची खानेपानी यसै आर्थिक वर्षमा सम्पन्न गर्ने गरी काम गरिहरहेको छ । यसै आर्थिक वर्षदेखि पानी काठमाडौं आउने छ।’

प्रधानमन्त्री ओलीले तुइन विस्थापनअन्तर्गत १२५ वटा तुइन विस्थापन यही सरकारले गरेको दाबी गरेका छन् । साथै, प्रधानमन्त्री ओलीले आफू सरकारमा आएपछि २२८ वटा अस्पतालका भवन सरकारले निर्माण गरेको, पुनर्निर्माणमा पनि सरकारले ४ लाख भन्दा धेरै निजी आवास निर्माण गरिसकेको दाबी गरे ।

‘जोखिमयुक्त बस्तीमा रहेका २ हजार लाभग्राहीले रकम पाएका छन् । पुनर्निर्माणमा व्यापक तीव्रता भइरहेको छ । यसमा असाधारण प्रगति भएको छ ।’ उनले भने, ‘पुरातात्विक भवन र सुरक्षा निकायका लागि आवश्यक भवन धमाधम सम्पन्न भइरहेका छन् ।’ धरहराको छैटौं तह ढलान भइरहेको प्रधानमन्त्री ओलीले बताए ।

रानीपोखरीको पुनर्निर्माण भइरहेको, २ लाख ७० हजार बालबालिकालाई यही सरकारले विद्यालय पुर्‍याएको उनले जनाए । पाठ्यपुस्तक नपुगेको गुनासो समाप्त पारिएको उनको भनाइ छ ।

उनले लिम्पियाधुरा हाम्रो हो भनेर पहिलोपटक पत्राचार भएको बताए । प्रधानमन्त्री ओलीले लिम्पियाधुराका बारेमा भारतसँग वार्ता भइरहेको पनि जानकारी दिए ।

‘हाम्रो सम्पूर्ण प्रमाणहरुका साथ भारतसँग वार्ता हुन्छ । लिपुलेक, कालापानी र लिम्पियाधुरा दावी गर्नेछौं । केही कुरा प्रारम्भ भएको छ,’ उनले भने, ‘यो सरकार राष्ट्रवादी सरकार हो । यो देशभक्त सरकार हो। कसैसँग डराउँदैन । यो सरकार कुनै पनि अनुचित कुराबाट डराउँदैन।’

सरकारविरुद्ध प्रचार युद्ध र प्रचार आक्रमण छेडिएको भन्दै उनले भने, ‘युद्ध पनि दुईतर्फी हुन्छ । हामी युद्धमा छैनौं । तसर्थ, हामीविरुद्ध प्रचार आक्रमण छेडिएको छ।’

उनले सरकारले प्रशस्तै काम गरेको दाबी गर्दै भने, ‘सरकार नतिजाबाट जवाफ दिन सक्ने ठाउँमा छ ।’ सरकारले काम गर्दा केही कमजोरी भएको हुनसक्ने उनले बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘हामी काम नगरी बसेका छैनौं । निर्वाचनपछि हामीले असाधारण काम गरेका छौं।’

  • 2
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here