•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ,
पर्यटक आउने सिजन नाम्चेबजारमा हिँड्ने बाटो पाउनै मुस्किलहुनथ्यो तर, यसपटक नाम्चेबजार सुनसान छ। सन् १९५३ मा भएको प्रथम सगरमाथा आरोहण यता पहिलोपटक यो वर्ष खुम्बु क्षेत्र सुनसान बनेको हो।

आङमाया शेर्पालाई नाम्चेबजार अहिले जति सुनसान कहिल्यै लागेको थिएन। उनी यही ठाउँमा ३० वर्षदेखि होटल व्यवसायमा संलग्न छिन्। आफ्नै ‘होटल नाम्चे’ चलाएकै २० वर्ष भयो। यो वर्ष पर्यटक आउने सिजनमा उनी होटल मर्मत गर्दै बसिन्।

नाम्चेमा वर्षको दुईपटक पर्यटकको ओइरो लाग्छ। मार्च–अप्रिल ९फागुन–वैशाख० र सेप्टेम्बर–नोभेम्बर ९भदौ–कात्तिक० मा होटलमा बास पाउन मुस्किल पर्छ। यो मौसममा पर्यटकहरु होटल ‘बुक’ गरेर मात्र आउँछन्।
थप सामग्री । नाम्चेमा साना ठूला गरी ६० होटल छन्। यहाँका धेरैजसो मानिस होटल व्यवसाय र ट्रेकिङमा संलग्न छन्। पर्यटक नआउँदा उनीहरु सबैको खाने मेलो गुमेको होटल नाम्चेकी संचालक शेर्पा बताउँछिन्।

नाम्चेलाई सगरमाथाको प्रवेशद्वार भनिन्छ। तर, ‘एभरेष्ट ट्रेल’ मा जाने पर्यटकको गन्तव्य भने लुक्लाबाटै शुरु हुन्छ। कोरोनाभाइरस संक्रमणको महामारीको असर लुक्लादेखिकै होटल तथा पर्यटन व्यवसायीमा परेको छ।

हवाइजहाजबाट लुक्ला ओर्लने पर्यटक खुम्जुङ, तेङ्बोचे, गोक्यो ताल, कालापत्थर र सगरमाथा आधार शिविरसम्म पुग्छन्। यी सबै यात्राको पहिलो विन्दु लुक्ला नै हो।

सरकारले बन्दाबन्दी घोषणा गर्नुअघिदेखि नै यो क्षेत्रमा पर्यटक घटेको होटल नाम्चेकी संचालक शेर्पा बताउँछिन्। उनका अनुसार होटल नाम्चे गत मार्च ९फागुन दोस्रो हप्ता० देखि नै बुकिङ थियो। मार्च र अप्रिलका ५० भन्दा बढी विदेशी समूहका बुकिङ रद्द भए। सेप्टेम्बरदेखि नोभेम्बरसम्मको सिजनमा त कुनै बुकिङ नै भएन।

होटल बुकिङ गर्ने एउटा समूहमा कम्तीमा ६ जना र बढीमा २० जनासम्म हुन्छन्। शेर्पा भन्छिन्, “एउटा समूह दुईदेखि तीन दिनसम्म बस्छन्। हामी उनीहरुमा नै शतप्रतिशत भर परेका छौँ। यो वर्ष ब्याङ्कको ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छौँ।”

नाम्चेभन्दा तल मन्जोबजारकी आशमाया तामाङले ब्याङ्कबाट ऋण लिएर गत वर्ष मात्र होटल खोलेकी थिइन्। २०७६ असोजदेखि सञ्चालन गरेको होटल चैतमा बन्दाबन्दी शुरु नहुँदै बन्द गर्नुप¥यो। त्यसयता उनी खेती गरेर बसेकी छन्। अहिले ब्याङ्कको ब्याज तिर्नसमेत नसकिरहेको उनी बताउँछिन्।

कोरोनाको असर ठूलासाना सबै होटलमा परेको छ। खुम्जुङस्थित संसारकै अग्लो स्थान, ३,८८० मिटर उचाइमा रहेको होटल एभरेष्ट भ्यूमा प्रत्येक सिजन करीब ५०० पर्यटक पुग्छन्। कप्तीमा तीन दिन बस्छन्। चिया कफी खाँदै सगरमाथाको दृश्यावलोकन गर्न मात्र दैनिक ३०० जनासम्म त्यहाँ पुग्छन्।नेपालले ११ चैतमा बन्दाबन्दी घोषणा गर्नुअघि नै गएको मार्च–अप्रिलमा उक्त होटलको २०० बुकिङ रद्द भयो। बन्दाबन्दीपछि भने केही समयसम्म फाट्टफुट्ट पर्यटक आए पनि होटलले नै प्रवेश नदिएको लेखापाल कर्मनन्द राई बताउँछन्।

होटल एभेरेष्टमा जापानी व्यवसायीको लगानी भएकाले उतैका नागरिक धेरै आउँछन्। कतिपय सगरमाथा आधार शिविर परिक्रमा गर्न आए पनि धेरै जसो तेङबोचे र गोक्योसम्म पुग्छन्। पछिल्लो समय अन्य विदेशीले पनि होटल बुकिङ गर्न थालेका थिए।

उक्त होटलले ‘भिजिट नेपाल २०२०’ मा आउने पर्यटकका लागि ‘अफ सिजन’मा नै खाद्यान्नको जोहो गरेको थियो। जोहो गरिएको अधिकांश खाद्यान्न खेर गएको राई बताउँछन्। उनी भन्छन्, “पिक सिजनमा काठमाडौँबाट प्लेनमा खाद्यान्न ल्याउन पाइँदैन। त्यसैले अफ सिजनमा नै ल्याएर भण्डार गर्नुपर्छ। आलु, मैदा, अण्डा जस्ता खाद्यान्न खेर जाँदा ठूलो घाटा भयो।”

उनका अनुसार भ्रमण वर्षका लागि होटलले खरिद गरेको २०० टिन आलु सबै कुहियो। एक टिनमा १३ किलो हुन्छ। त्यस्तै ३५ बोरा मैदा खेर गयो। ठूलो परिणाममा अण्डा, चीज, चिकेन पनि नाश भएको उनले बताए।

सन् १९७१ मा सञ्चालनमा आएको यो होटल त्यसयता पहिलोपटक पर्यटकविहीन भएको हो। यो सिजन मात्र करीब रु।१ करोड ५० लाख घाटा भएको राईको अनुमान छ।

खुम्जुङभन्दा माथिल्लो क्षेत्रमा भएका होटलले झन् ठूलो घाटा बेहोर्नु परेको लोबुचेस्थित ओटल अक्सिजनका सञ्चालक लक्ष्मण अधिकारी बताउँछन्। उनको होटल ४,९५० मिटरको उचाइमा छ। लुक्लाबाट चार दिनको पैदलमा मात्र पुगिन्छ।

यहाँसम्म सामान पु¥याउनै महङ्गो भएकाले आर्थिक कारोबार धेरै भए पनि नाफा कम हुने अधिकारी बताउँछन्। तर, पर्यटक नआउँदा घाटाको अनुपात भने ठूलो हुन्छ। उनी भन्छन्, “काठमाडौँमा २० रुपैयाँ पर्ने नुन लुक्ला ल्याउँदा नै १२० रुपैयाँ पर्छ। त्यहाँबाट लोबुचे पु¥याउँदा त प्याकेटकै ३०० पर्छ। एलपी ग्यास १० हजार रुपैयाँ पुग्छ। त्यसैले ग्राहकले बढी पैसा तिरे पनि संचालकको नाफा धेरै हुँदैन। महङ्गो सामान खेर जाँदा घाटा भने धेरै हुन्छ।”

उनले सन् २०१४ मा खोलेको होटलले पहिलो पटक यो वर्षका दुवै सिजन कारोबार गर्न पाएन। पर्यटक भने गत वर्षदेखि नै घट्न थालेको उनी बताउँछन्। गत वर्ष काठमाडौँमा डेङ्गु फैलिएको समाचार आउन थालेपछि त्यसको असर हिमाली पर्यटनमा पनि परेको उनको भनाइ छ।

वर्षाको केही समय पर्यटक नआए पनि लगभग वर्षैभरि नाम्चे क्षेत्रमा घुम्न जानेहरु नटुट्ने उनी बताउँछन्। हिउँदमा हिउँसँग रमाउनेहरु उता पुग्छन्। मनसुनमा सगरमाथा राष्ट्रिय निकुञ्जका जनावर देखिने हुँदा वन्यजन्तु हेर्नेहरुको आवतजावत हुन्छ। तर, सन् १९५३ मा सगरमाथाको प्रथम आरोहण भएयता खुम्बु क्षेत्र पहिलोपटक पर्यटकविहीन भएको अधिकारी बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here